काठमाडौं, पुस १५ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ । प्रदेशभित्रका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संचार माध्यमलाई दिए ।
स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख वितरण गर्ने निर्णय भएको मन्त्री ज्वालाले फेसबूकमार्फत जानकारी गराएका छन् । साग खेलकुद प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमानसहित रजत पदक प्राप्त गर्न सफल म्याराथन धाविका सल्यानी चेली पुष्पा भण्डारीलाई आफ्नै आर्थिक मामिला तथा योजना मन्त्रालयमा स्वागत गरी बधाई दिइयो ।
साग खेलमा पदक प्राप्त गर्ने कर्णालीका खेलाडीहरूलाई प्रोत्साहित गर्न कर्णाली प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई ३ लाख, रजत पदक विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाख पुरस्कार दिने निर्णय गरेको छ मन्त्री ज्वालाले फेसबूकमा उल्लेख गरेका छन् ।
पुरस्कार नेपाल भ्रमण वर्षको उद्घाटन समारोहका अवसरमा बुधवार बितरण गर्ने पनि जानकारी उनले दिएका छन् । सो पुरस्कार पौष १६ गते (January 1) Visit Nepal 2020 को उद्घाटन समारोहमा वितरण गरिनेछ । सबै विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना मन्त्री ज्वालाले लेखेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई नेपाल सरकारले पनि जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
यो पनि पढ्नुहोस ।