राजीनामा नदिने उपसभामुखको अडान, भोलिको संसद बैठक चलाउने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  739 पटक हेरिएको

काठमाडौँ, पुस २६ । 

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए पनि उनले पुरानै अडान लिएकी हुन्। शनिबार बसेको नेकपा सचिवालय बैठकबाट राजीनामा गराउने निर्णय सार्वजनिक भएसँगै उनले पदबाट नहट्ने जानकारी दिएका हुन्। तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने शर्तमा मात्रै उपसभामुखबाट बाहिरिने अडान लिएकी हु्न्। 

‘पार्टीले गरेको निर्णयबारेमा मलाई कुनै जानकारी छैन। तर भोलि बस्ने प्रतिनिधि सभाको बैठक मैले नै चलाउँछु’, उनले शनिबार साँझ भनिन्,’म सभामुख पदका लागि अयोग्य हुने कारण पार्टीले दिन सक्नुपर्छ।’ शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्यण गरेको थियो। उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुख चयनको प्रक्रिया अघि बढ्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको हो। यद्यपि उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छन्। शुक्रबार मात्रै उपसभामुख तुम्बाहाम्फेले दुवै अध्यक्षसँग भेटवार्ता गरेर सभामुखका लागि आफ्नो अयोग्यता पुष्टि गर्न भनेकी थिइन्। असोज १२ गते संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद हालसम्म रिक्त रहेको छ।

सभामुखका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उप-नेता सुवासचन्द्र नेम्वाङलाई जसरी नि सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालले अग्नि सापकोटाको पक्ष लिएका छन्। यस्तो अवस्थामा उपसभामुखको राजीनामा नआएसम्म नेकपाले सभामुख चयन अगाडि बढाउने संवैधानिक व्यवस्था छैन। यस्तो अवस्थामा उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णय नमान्ने बताउँदै भोलिको बैठक आफैँ चलाउने बताएसकेकी छन्। 

ओली र दाहालको अडानबीच उपसभामुखले पनि पछि नहट्ने बताएकी छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएको चर्चा राजनीतिक वृत्तमा चलेको छ भने अर्को तर्फ पूर्व सभामुख कृष्ण बहादुर महरालाई अमेरिकाद्वारा प्रस्ताव गरीएको एमसीसी पास नगर्ने अडान राखेकोले अमेरिकाको डिजाइनमा प्रधानमन्त्रि कै संलग्नतामा महरालाई जेल हालीएको हल्ला राजनीतिक बृतमा चल्न थालेको छ । एमसीसी कै कारण हालसम्म सभामुख चयन हुन नसकेको पनि छर्लनग भैसकेको छ ।

नेकपाले सभामुख चयन नगर्दा पुस ४ गतेबाट सुरू भएको प्रतिनिधि सभाको संसद बैठक दुई पटक स्थगित भइसकेको छ। आइतबार संसदको बैठक बोलाइएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार