

काठमाडौं, पुस १२ ।

भारतीय ख्यातिप्राप्त गायिका आशा भोस्ले लगायतका टिमले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी छन्। राष्ट्रपति भण्डारीलाई गायिका आशा भोस्ले लगायतले शुक्रवार राष्ट्रपति निवास शीतल निवासमा शुक्रवार भेट गरेकी हुन्।
साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको विशेष निम्तोमा साधना सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आएकी विश्वविख्यात गायिका आशा भोस्लेले नेपालकी राष्ट्रपति भण्डारीलाई भेट गर्न पाउंदा गौरब लागेको बताएकी छिन्।

राष्ट्रपति भण्डारीले विश्वविख्यात गायिका आशा भोस्लेले नेपाली गीत–संगीतको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । भेटमा देशको समसामयिक घटनाक्रमका र गीतसंगीतको माध्यमबाट नेपाललाई पुर्याएको योगदानको विषयमा छलफल भएको मोक्तानले बताएका छन्।
गायिका आशा भोस्लेले आफूले नसोचेको अनुपम सम्मान साधना कला केन्द्रको तर्फवाट एअरपोर्टदेखि पाएको बताएकी छिन्। आज शनिबार काठमाडौंको सोल्टी होटलमा साधना कला केन्द्रको आयोजनामा हुने विशेष सांगीतिक कार्यक्रममा गायिका आशा भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’लगायतका आशा भोस्ले आफूले गाएका थुप्रै नेपाली गीत गाउनेछिन्। उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन्।

आयोजक साधना कला केन्द्रको निमन्त्रणामा भारतीय ख्यातिप्राप्त गायक–गायिकाहरु अनुराधा, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजार लगायतका कलाकारहरू पनि नेपाल आएका छन्।

