गोरखा, साउन १० ।
लगातारको बर्षापछि आएको पहिरोले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ स्थित नौलीखोला थुनिएको छ। गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको हो। स्थानीय बासिन्दा सुशील गुरूङका अनुसार अविरल वर्षापछि गए राती करिब ११ बजे पहिरो जाँदा नौलीखोला थुनिएको हो।
‘भीरबाट खसेको ठूलो ढुंगासहितको पहिरोले नौलीखोला थुनिएको छ,’ उनले भने, ‘खोला थुनिएपछि ताल बनेको छ। कतिबेला फुट्छ थाहा छैन।’ अर्का स्थानीय बीरवल गुरूङका अनुसार नौलीखोला थुनिएर बनेको ताल फुट्यो भने करिब ५० घरलाई जोखिममा पार्नेछ।
नयाँ वस्ती र नौलीखोला झरना आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको उनले बताएका छन्। ‘अझै पहिरो झरिरहेको छ,’ उनले भने। पहिरो र ताल बनेका क्षेत्रमा घनाबस्ती भने छैन। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पठाइएको गोरखा प्रशासनले जनाएको छ। नौलीखोला बाटो भएर बटुवालाई हिड्न रोकिएको छ। नौलीखोला बूढीगण्डकी नदीको सहायक खोला हो।