पाकिस्तान बिमान दुर्घटनामा सवार १०७ सबैको निधन भएको पुष्टि, आसपासका ६ घर ध्वस्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  611 पटक हेरिएको

vision-online-advertise

पाकिस्तान, जेठ १० ।

पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सबैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमान खसेकाले कम्तीमा ५, ६ वटा घर ध्वस्त भएको पनि जानकारी दिए । उक्त बिमान करॉची स्थित एअरपोर्टमा अवतरणको प्रयास गर्दा गर्दै बिमानस्थल नजिकै दुर्घटना ग्रस्त भएको थियो ।

क्षति भएका घरमा कोही मानिस थिए कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिए । पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए । विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विशेष गरेर गरिब समुदायका मानिसहरु बस्ने गर्दथे । प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवक लगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धारका प्रत्यक्ष दृश्य प्रसारण गरेको थियो । कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो । एजेन्सी

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार