काठमाण्डौ, माघ २९ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । आज किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा अमेरिका ३५ रनमा अल आउट भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
सुशन भारीले तीन ओभरमा एक मेडन राखेर मात्र पाँच रन दिँदा महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै तीन ओभर बलिङ गरेका करण केसी भने विकेटविहीन बन्न पुगे । अमेरिकाका एक जना ब्याट्सम्यानले मात्र दोहोरो अङ्क बनाउन सके । जेभियर मार्शलले १६ रन बनाउँदा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
यो खेलमा नेपालले विपक्षी टिमलाई न्यून कम योगफलमा रोक्ने कीर्तिमान बराबर गरेको छ । यसअघि सन् २००४ मा जिम्बाब्वे श्रीलङ्काविरुद्ध ३५ रनमै अलआउट भएको थियो ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।