
सुर्खेत, फागुन ६ ।

कर्णाली प्रदेशको लोकसेवा आयोगमा सरकारले पदाधिकारी नियुक्ति गरेको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएका हुन्। आयोगको उपाध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। उपाध्याय पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी उपाध्याय मुख्यमन्त्री महेन्द्र शाहीको रोजाइमा उपाध्यक्ष बनेका हुन्।
त्यस्तै आयोगको सदस्यहरुमा बसन्ती कुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्वशिक्षक शाही खार्पुनाथ–५ हुम्लाका स्थानीय हुन्। उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन्। आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको छ।
त्यस्तै अर्का सदस्य खड्का पूर्वशिक्षा सचिव हुन्। सुर्खेत वीरेन्द्रनगर–४ का खड्का कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको रोजाइमा सदस्यबनेका छन्। सभामुख शाही प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। उनी ओली निकट भए पनि मुख्यमन्त्री शाही र प्रतिपक्ष दलका नेता जीवन शाहीसँग घनिष्टता छ।
नवनियुक्त पदाधिकारीहरुले बिहीबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश सरकारको सिफारिसमा पदाधिकारीलाई कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले सपथ खुवाएका हुन्।




538 पटक हेरिएको 
















