काठमाडौं, पुस १३ ।

नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ । नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो ।
सरकारसँग शान्ति वार्ता सम्झौता भएसँगै मूलधारको राजनीतिमा प्रवेश गरेको नेकपा जनवादी मंगलवार एकीकृत समाजवादीमा विलय हुने भएको हो । पार्टी एकता घोषणा समारोहमा महासचिव महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको हो ।



808 पटक हेरिएको 
















