अमेरिका, माघ ८।
जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला उपराष्ट्रपति हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागिता जनाएनन् ।
आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन् । समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन् ।
डेमोक्रेटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन भएको बताएकी छन् ।