काठमाडौँ, मंसिर २८ ।

प्रतिनिधिसभाको १० औं अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १०औं अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले विरोध जारी राखेका हुन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गरे ।
यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गरेका थिए। यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गरे ।
एमालेले मंगलबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । एमालेको बिरोधका बाबजुद पनि शुरु भएको प्रतिनिधि सभाको बैठक केहि अध्यादेश संशोधनको लागि पेश गरि प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।



266 पटक हेरिएको 
















