उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक, कसले कति ठाउँ जीते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1036 पटक हेरिएको

काठमाण्डौ, मंसिर, १६ ।

शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । उक्त निर्वाचनमा कहाँ क-कसले जीत हात पारे । उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष कै दबदबा देखियो अन्य पार्टीको भने सामान्य रह्यो ।

समग्रमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेकाे छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाकाे मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेकाे छ ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराएको हो ।

त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराएको हो । यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेको थियो ।

त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएको हो । बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी भएको छ ।

त्यस्तै पहिले तत्कालीन एमालेले जितेको धरान उपहानगरपालिको मेयर पनि नेकपाले गुमाएको छ । धरान उपहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई विजयी भएको छ । उहाँले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराएको हो ।

उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहाेर्‍याएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेश सभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

प्रदेशसभामा जित दोहोर्‍याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुई वटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार