अमेरिका, अक्टोबर ३० । नेवार समुदायको महत्वपूर्ण चाड सबै भन्दा ठुलो पर्ब मह:पूजा र नेपाल सम्वत्सा ११४० बिश्व भरी विविध कार्यक्रम गरी मनाईएको छ ।
सान फ्रान्सिसको, अमेरिका
तत्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रीय पर्व तथा वर्षको रूपमा मनाउने घोषणा गरेको मह:पूजा र नेपाल सम्वत्मु नेवार समुदायको मात्र नभई राष्ट्र कै गौरबको पर्ब तथा नेपाली बर्ष हो । नेपाल भित्र मात्र नभई बिश्वभरि छरीएर रहेका नेवार समुदायका व्यक्तिहरूले नेपाल भ्रमण बर्ष २०२० लाई केन्द्रमा राखी बिदेशी नागरिकहरूको समेत उपस्थितिमा मह:पूजा र नेपाल सम्वत् तथा नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेर मनाएका छन ।
नेवार समुदायको बाक्लो उपस्थिति रहेको जापान, हंगकंग, अष्ट्रेलिया, क्यानडा र अमेरिकाका विभिन्न शहरहरूमा विविध कार्यक्रम गरी मनाएका हून । अमेरिकाको सान फ्रान्सिसको शहरमा भने बृहत्म्ह रूपमा सामूहिक मह: पूजा र नेपाल सम्बत् ११४० को उद्घाटन समारोह सहित नेपाल सम्बत ११४० मनाईएको थियो । उक्त मह:पूजा तथा नेपाल सम्बत ११४० को आयोजना भने Newah Organization of America Northern California- NOANC ले गरेको थियो ।
उक्त कार्यक्रममा नेवारी बाजासहितको नाचगान गरेर समेत रमाईलो गरेको थियो । सानफ्रान्सिसकोमा रहेका अन्य नेपालीहरुको समेत बाक्लो उपस्थितिमा मह:पूजा मनाएको हो । मह:पूजामा अमेरिकन नागरिक पनि सहभागी भएका थिए ।
न्यूयोर्क, अमेरिका
नेवार समुदायको महान चाड म्हपूजा न्यूयोर्कमा रहेका गैर नेपाली अमेरिकनहरुले पनि रमाईलो गरि मनाएका छन् । हिजो मंगलवार साँझपख न्यूयोर्क निवासी अमेरिकी नागरिक एलेन कून (Ellen Coon) को निवासमा अठाह्र जना अमेरिकीहरुले बढो अभिरुचीपूर्वक रमाईलो गरी म्हपूजा मनाएको अमेरिका स्थित रहेका नेवार समुदायले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन ।
न्यूयोर्कमा आयोजित मह:पूजा भने एलेन कून; राजेश श्रेष्ठ; र पूर्णलता श्रेष्ठको पहल र सक्रियतामा मनाईएको सो म्हपूजामा सहभागीहरुले स्वाद मानी-मानी नेवारी भोज ज्यूनार गरेका थिए । म्हपूजा गर्नु अघि आयोजक एलेन कूनले सहभागीहरुलाई म्हपूजाको विशेषता; महत्व; र प्रचलन बारे संक्षिप्त जानकारी गराएका थिए ।
यसपटक म्हपूजाको साईत बारे फरक ज्योतिषहरुबाट फरक मिति तय गरिएको कारण नेवार समुदायमा कसैले सोमवार नै म्हपूजा गरे भने कतिपयले मंगलवारको दिन गरे । न्यूयोर्कमा रहेका नेवार समुदायको दुईवटा संस्थाहरु नेवा: गुठी र नेवा: नख: ले सोमवार म्हपूजाको आयोजना गरेका थिए भने कतिपयले मंगलवार मनाएका थिए ।
म्ह:पुजाको महत्व र सन्देश
म्ह: पूजा- आत्म शुद्धिको पर्व नेवारी संस्कृति नेपालको मात्र नभएर सायद विश्वकै धनी र अनुपम संस्कृति मध्ये पर्छ भन्दा अत्युक्ति नहोला। नेपालमा केही नेवारहरु हिन्दु छन् भने केही चाहिँ बुद्धमार्गी पनि। तर पनि ती दुई समुदायका रितिरिवाज, चाडपर्व र चालचलनमा खासै ठूलो भिन्नता पाइदैन। अधिकांशले हिन्दु र बौद्ध धर्म दुवैका चाड पर्व र रिति रिवाज मान्छन्। दुवै धर्मको सम्मिश्रण भएकोले पनि यो संस्कृतिमा यति धेरै धनी भएको हो। तर हिन्दु र बौद्ध धर्मको अनुपम संगम भएर मात्र नभई यसका आफ्नै विशेष संस्कारहरुले पनि नेवार संस्कृतिलाई धनी अनुपम बनाएको हो। पुरातन कालदेखि नै काठमाडौँ उपत्यका र त्यसको वरपर बस्ने नेवार समुदायले हिन्दु र बौद्ध धर्मका पर्वहरु सँगसँगै आफ्नै मौलिक पर्वहरुलाई पनि निरन्तरता दिंदै आएका छन्। तिनै मौलिक पर्वहरु मध्येको एक हो- म्हः पूजा। अन्य धेरै पर्वहरु जस्तै हिन्दु र बौद्ध धर्माबलम्बिहरु दुवैले यसलाई निकै महत्वपूर्ण रुपमा मनाउँछन्। यो पर्व हाम्रो देशको आफ्नै सम्वत् नेपाल सम्वतसँग जोडिएको हुनाले राज्यले पनि केही वर्ष यता यो पर्वलाई महत्व दिन थालेको छ।
अबको परिवर्तित नेपालमा यो पर्व नेवारी समुदायको मात्र नभई सम्पूर्ण नेपालीको सांस्कृतिक, सामाजिक र धार्मिक सहिष्णुताको एउटा सुन्दर उदाहरण हुन थालेको छ। तिहारको लक्ष्मी पूजाको अर्को दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेपाल सम्वत् अनुसार नयाँ वर्षको दिन हो र त्यसै दिन नेवार समुदायले म्हः पूजा मनाउने गर्छन्। नेवारी भाषामा म्हःको अर्थ ‘शरीर’ भन्ने हुन्छ। अर्थात म्हः पूजाको अर्थ आफ्नै शरीरको पूजा भन्ने हुन्छ। नयाँ वर्ष भन्ने बित्तिकै संसार भरि नै नयाँ कुराको शुरुवातको दिन भनेर बुझिन्छ। त्यसैले नयाँ वर्ष खालि नयाँ समयको शुरुवात मात्र नभई हरेक मान्छेको लागि आफूले अघिल्लो वर्षमा गर्न नसकेका कामहरु पुरा गर्ने, पहिलो वर्षमा गरेका गल्तिहरु सुधार्ने अनि आउने वर्षको लागि नयाँ कामको शुरुवात गर्ने गरी नयाँ योजनाहरु बनाउने दिनको रुपमा जानिन्छ। त्यसैले नेपाल संवतको नयाँ वर्षमा पनि अन्य नयाँ वर्षमा जस्तै नेवार समुदायले आफ्नै शरीरको पूजा गरेर नयाँ कामको थालनी गर्ने गर्छन्। आफूले आफ्नै शरीरको पूजा गर्ने भन्दा अलि स्वार्थि र मपाइ गरेको जस्तो सुनिएला तर गहिरिएर सोच्दा यो कार्यले हाम्रो जिवनमा निकै ठूलो अर्थ राख्छ। हुन त अहिले व्यक्तिगत स्वतन्त्रता अनि व्यक्तिवादी भावना हाबी हुँदै गएको अवस्थामा मानिसहरु पहिले देखि नै आत्मपरक छन् अनि यस्तो समाजमा किन आफ्नो शरीरको पूजा गर्नु पर्यो भन्ने हामीले सोचौला तर जतिसुकै आत्मपरक भए जस्तो लागे पनि अहिले समाजमा हामी खासमा हरेक क्षणमा बाह्य परिस्थिति र बाह्य वातावारणको इशारामा चलिरहेका हुन्छौं। हाम्रा हरेक गतिविधिहरुलाई हामीले अरुबाट पाएका सुचनाहरुले निर्देशित गरेका हुन्छन्।
हामी जहिले पनि के गर्ने र के नगर्ने भन्ने दोधारमा हुन्छौं। आधुनिकताको नाममा हामीले झन् पछि झन् आफूलाई बुझ्न सकेका छैनौ, दिन प्रतिदिन हामी आफूबाट टाढा हुँदैछौँ। हामी अहिले हाम्रो समाज, हाम्रो प्रविधि र हाम्रो स्वार्थमा यति धेरै आश्रित भएका छौँ कि हामीले आफूलाई बिर्सदैछौं। शान्त वातावरणमा बसेर आफूलाई एक पटक ज्ञानको आँखाले हेर्ने र आफ्नो अन्तर्मनको आवाज सुन्ने काम गर्न हामीलाई फुर्सद छैन। हामीलाई थाहै होला, हामीले जाने सुनेका जुनसुकै धर्ममा पनि लेखेको भेट्न सकिन्छ कि संसारलाई जान्नु भन्दा पहिले मानिसले आफूलाई जान्नु पर्छ। तर आधुनिकताले छोपेका हामीहरुले कहिले पनि आफूलाई जान्ने प्रयत्न गरेनौं। हामी आफूले संसार परिवर्तन गर्ने, देश र समाजको विकास गर्ने ठूला ठूला कुरा गर्छौं तर पनि आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थबाट कहिले पनि माथि उठ्न सक्दैनौ र जति कोशिश गरे पनि हामीहरु मध्ये अधिकांश पात्रहरु जिवनमा असफल हुन्छौं। त्यसको मुख्य कारण हो- आफूलाई नचिन्नु। ठूला ठूला काम गर्नु भन्दा पहिले पहिले आफूलाई जान्नु अति नै जरुरि हुन्छ। हामीले अहिले आफूलाई नजानेरै संसार परिवर्तनको कुरा गर्दा बामे सर्न नजानेको बच्चा दौड्न खोजे जस्तो हुन्छ र त्यसको परिणाम के हुन्छ त्यो सबैलाई थाहा छ। जति ठूलो कुरा गरे पनि अहिलेको यो स्वार्थी युगमा मानिसले आफ्नो खाँचोलाई नै सर्वेसर्वा देख्छन्।
आफ्नो स्वार्थपूर्तिको लागि अरुलाई दुःख दिन्छन्, अरुहरुको दर्दलाई वास्ता गर्दैनन्। त्यो भनेको एउटा पापी र अशुद्ध मनस्थितिको उपज हो। धन र इज्जतको पछि लागेर आधुनिक मानिसहरु निकै अनैतिक भएका छन्। धर्तीको सबभन्दा बुद्धिमान प्राणी भएको नाताले मानिसले आफ्नो मात्र होइन यो धर्तीका सबै चराचर प्राणी र वातावरणको खयाल राख्नु पनि उसको कर्तव्य हो। तर जान या अन्जानमा मानिसले धेरै नराम्रा कामहरु गरिरहेका छन्। आदिम कालमा ऋषी मुनिहरुले लामो समयसम्म शान्त मुद्रामा मनलाई एकत्रित गर्दै ध्यान गरेर आफूलाई हेर्ने गर्थे तर त्यो चलन अहिले छैन। मानिसहरु सामाजिक पारिवारिक र व्यक्तिगत उल्झनमा यति धेरै बल्झिएका छन् कि उनीहरुलाई आफूलाई बुझ्ने आफ्नो आवाज सुन्ने फुर्सद र चाहना छैन। तर यदि हामी आफूले चाहेको काम गर्न चाहन्छौं, शान्ति पूर्वक जीवन यापन गर्न चाहन्छौं र परिवार र समाजमा केही उल्लेखनीय काम गर्न चाहन्छौं भने हामी एकत्रित भएर म के हुँ, मैले के गर्नु पर्छ, मेरो आवश्यकता के हो, मेरा प्राथमिकताहरु के के हुन् सबै नियालेर हेर्ने सिक्नु पर्छ। सामन्य लाग्ने भए पनि यो गहन र निकै सोचनिय विषय हो। हामीले विचार गरेकै हौंला विमानमा सुरक्षाका नियमहरु बताउँदा जब विमान भित्र हावाको चाप कम हुन्छ र अक्सिजन ‘मास्क’ खस्छ पहिले आफूलाई लगाएर मात्र बच्चा या बुढाहरुलाई लगाउन भनिन्छ। त्यसको अर्थ हो आफैले आफूलाई नै सम्हाल्न नसक्नेले अरुको सहयोग गर्ने प्रश्न नै आउँदैन। यदि कसैले निस्वार्थरुपमा आफ्नो ख्याल नगरेर अरुलाई सहयोग गर्न खोजे पनि अस्वस्थ शरीरबाट त्यो सम्भव हुँदैन त्यसैले आफूलाई मात्र होइन, अरुलाई सहयोग गर्न पनि आफूलाई सक्षम राख्नु निकै आवश्यक छ। हरेक नयाँ बर्षमा नयाँ योजना बनाउने मात्र होइन, हाम्रो समाज, धर्म संस्कृतिमा बर्ष भरि गरेका नराम्रा कामहरु र त्यसबाट अरुलाई पुग्न गएको कष्टको लागि माफि माग्ने र आफ्ना पाप पखालेर आत्म शुद्धि गर्ने काम गरिन्छ चाहे त्यो पूजाको माध्यमबाट होस् अथवा अन्य कुनै माध्यमबाट होस्। अर्को कुरा नयाँ बर्षमा आफ्ना नयाँ योजना बनाएर आफुलाई आज भन्दा भोलि झन् राम्रो बनाउने कामको शुरुवात पनि गरिन्छ। धर्ममा पनि भनिएको छ कि स्वस्थ र शुद्ध शरिरमा मात्र स्वच्छ भावनाहरुको वास हुन्छ। त्यसैले पनि शुद्ध भावानलाई बासस्थान दिन आफूलाई स्वस्थ र शुद्ध गर्नु निकै जरुरि छ।
त्यसैले शरीर र मनलाई स्वस्थ र स्वच्छ राखेर यसलाई आदर भावसँग भगवान जस्तो मानेर यसको पूजा गर्दा आत्म शुद्धि हुन्छ। म्ह पूजा किन र कसरी शुरु भयो त्यो कुरा अध्ययनको अर्को पाटो होला तर अहिलेको सन्दर्भमा म्ह पूजा एक वर्षमा आफूले गरेका नराम्रा कामहरुको पाप पखाली शरीर र आत्मालाई शुद्ध बनाउनु र आफूलाई बुझ्नु र आउने वर्षको लागि योजना बनाउनु नै हो। विभिन्न नेवारी समुदायमा म्ह पूजाको पूजा विधि थरि थरिका हुन सक्लान्। कसैले एउटा धर्म र एउटा विधि अपनाएर पूजा गर्लान् भने कसैले अर्को धर्म र अर्को विधि अपनाएर आफ्नो पूजा गर्लान्। कसैले मण्डला बनाएर पूजा गर्लान् कसैले कमलको फुल बनाएर तर पनि सबैको एउटै अर्थ हो आफूलाई बुझ्ने, आफ्नो शरीरलाई पूजा गर्ने, आफ्नो शरीर र मनलाई शुद्ध बनाउने। त्यसैले आउनुस् आत्म शुद्धि र आत्म ज्ञानको यो अनुपम पर्वमा हामी सबै म्ह पूजामा सहभागी भएर हामी सबैले आफ्नो मन भित्रका अशुद्धिहरु पखालेर आफूलाई बुझ्ने प्रयास गरौं अनि आफ्नो शरीर र मनलाई शुद्ध बनाऔं।