

चितवन, पुस २२ ।

चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फउण्डेसनको नेतृत्वमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन ।
क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका पहिलो स्थानीय तह बनेको छ । चितवन महानगरपालिकाले पनि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा भने गरिसकेको छ । सोमबार मात्रै रंगशालाको अवलोकन गर्न पुगेका महतले तत्कालै निर्णय गराएर रकम दिएका थिए । उनी मंगलबार आफैं चेक बोकेर रंगशालामा आएका थिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीले हेटौंडा उपमहानगरपालिका रंगशाला बनाउन आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह बनेको भन्दैं उपमहानगरपालिका र हेटौडा नगरवासीलाई धन्यवाद दिए । फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक जिल्लाको प्रतिनिधित्व हुने गरी रंगशालाका कक्षहरु बनाइने हुँदा सबै जिल्लाका नागरिक, संघसंस्था र स्थानीय तहको सहयोग आवश्यक पर्ने बताए ।
रंगशाला बनाउन भरतपुर महानगरपालिकाले ६ करोड ५० लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ । यो रकम दिने प्रक्रिया अघि बढेको महानगरले जनाएको छ । यस्तैं प्रदेश ३ सरकारले रंगशालाका लागि ५ करोड रुपैयाँ रकम दिने घोषणा गरेको छ । घोषणा गरेको रकम भरतपुर महानगरपालिकाको खातामा पठाएको छ । चितवनका अन्य स्थानीय तहले भने अहिलेसम्म रकम दिने घोषणा गरेका छैनन् ।


