चितवन, मंसीर १० ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।आजबाट तीनदिनसम्म चल्ने एमालेको १० औ महाधिवेशनबाट नया नेतृत्व चयन हुने प्रक्रिया भएपनि हालसम्म कुनै पार्टी पदाधिकारीहरूले कुनै पनि पदमा उम्मेद्वारी दिएको छैन । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
नेकपा एमालेको १० औ महाधिबेशनमा प्रधानमन्त्री देउबाको सम्बोधन हुनेछ त्यस्तै महन्त ठाकुर, उपेन्द्र यादव लगायत केहि विदेशी पाहुनाबाट पनि सम्बोधन हुने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ । उक्त कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यब्यस्तताले उपस्थित नहुने माओबादी केन्द्रले जनाएको छ ।




691 पटक हेरिएको 
















