
काठमाडौं, मंसिर, ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बोल्ड निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ भने साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकाल भर प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जस अनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।
प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

उनले अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’
उनका अनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले आपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो तर जनतालाई स्थायित्वको सन्देश दिन र पार्टीलाई मजबुद बनाउन पार्टीको जिम्मेवारी बाँढिएको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए तर ओलीले सहमति जनाएका थिएनन् ।
बुधबार विहान भएको भेटमा भने सहमति जुटेको थियो। आपसी सहमति जुटेपछि नेकपा सचिवालयको मिटिङ्ग बसेको थियो ।त्यसपछि बसेको सचिवालय बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटबारे औपचारिक निर्णय नै गरेको छ ।
दुई अध्यक्ष बिचको जिम्मेवारी बाँडफाँड सम्बन्धि निर्णयहरु तल उल्लेख गरिएको छ ।

