नेकपा ओली समूहको बैठक सम्पन्न, प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  713 पटक हेरिएको

काठमाडौं, पुस ७ ।   

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको बैठक बालुवाटारमा सम्पन्न भएको छ । उक्त बैठकबाट प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।

श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ । नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’ पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ ।

बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको तर जिम्मेवारी मात्र हेरफेर गरेको उनले बताए । बैठकले नेकपा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई दिएको छ ।

नेता ज्ञवालीले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबी गरे । बैठकको अध्यक्षता गरेका ओलीले निर्वाचनमा हामी एकताबद्ध भएर जानुपर्छ भनेर अपिल गरेको जानकारी पनि ज्ञवालीले दिए ।

नेकपामा अहिले विवाद आउनुमा कतिपयले विदेशी शक्तिको हात रहेको चर्चा चलिरहेको बेला नेता ज्ञवालीले त्यसलाई इन्कार गरे । उनले भने, ‘आफ्नो थैलोको मुख बलियो गरी बाँधौं अरुलाई दोष दिनुपर्दैन ।’ ओलि समूहले सात प्रदेश मै प्रदेश स्तरीय पार्टीको बैठकको आह्वान पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार