अमेरिका, माघ १७ ।
चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी संकटकाल घोषणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै जापानमा पनि ८ जनामा कोरोना भाईरस भेटिएको छ भने जापानले चीनको हुवान प्रान्तमा भएका आफ्ना नागरिकलाई चार्टर बिमान मार्फत हालसम्म ६ सय जनालाई आफ्नो देश ल्याई सकेको छ ।
तर अमेरिकामा अर्को भाइरसको प्रकोप भने झन डरलाग्दो देखिएको छ । जसबाट १ करोड ५० लाख अमेरिकी संक्रमित भएका छन्, अहिलेको चिसो मौसममा मात्र ८ हजार २ सयभन्दा मानिसको मृत्यु भएको छ, जसमा ५४ बालबालिका संक्रमित भएको समाचार प्रकासित भएको छ ।
नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका अनुसार सन् २०१९–२०२० को डिसेम्बर र जनवरी दशकमै सबैभन्दा खराब सिजन भएको बताएको छ । यस सिजनमा कम्तिमा १४ लाख मानिस अस्पताल भर्ना भएका छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
यो नयाँ भाइरस होइन् । यो भाइरस १९१८ मा स्पेनिस फ्लुको रुपबाट सुरु भएको थियो, यसले सिजन र समय अनुसार आफ्नो स्वरुप परिवर्तन गर्दै आइरहेको अमेरिकन एकेडेमी अफ फेमिली फिजिसियनका निर्देशक डा. मार्गोट सभोय बताउँछन् ।
सन् २००९ मा एच १ एन १ भाइरसले अमेरिकामा महामारीको रुप लिएको थियो । पछिल्ला दशकमा फ्लू अमेरिकीहरुको जीवनमा निरन्तर घातक बनिरहेको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र सिडिसीले प्रत्येक वर्ष अमेरिकामा फ्लुबाट १२ हजार मानिस मर्ने अनुमान गरेको छ । सन् २०१७–२०१८ को चिसो मौसममा ६१ हजार मानिसको मृत्यु भएको थियो भने ४ करोड ५० लाख मानिस बिरामी परेको सिडिसीले जनाएको छ ।
सभोय भन्छन् ‘नयाँ भाइरसको बढ्दो संक्रमणका कारण फ्लु ओझेलमा पर्न सक्छ । मानिसहरु फ्लुबारे खासै चिन्तित देखिँदैनन् । तर यसको अवस्था गम्भीर छ ।’ प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई फ्लु खतरनाक हुन्छ । निमोनिया, मुटु रोग, मस्तिष्कसम्बन्धी दीर्घरोगीहरु एन्फ्लुएन्जाको उच्च जोखिममा पर्ने अमेरिकी चिकित्सक बताउँछन् ।
स्रोत :सिएनएन