काठमाडौ, कार्तिक ३० ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ । १० औ महाधिवेशनको पूर्वसन्ध्यामा गर्न लागिएको उक्त शुभकामना तथा अखिल साँझ २०७८ लाई बिशेष रूपमा लिएको छ । उक्त कार्यक्रममा चर्चित कलाकारहरूको उपस्थितिमा बिभिन्न सांस्कृतिक प्रस्तुति रहने अखिलले जनाएको छ ।
एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथिमा हुन लागेको उक्त कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने तय भएको छ । उक्त कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् ।
सो सङ्गठनका कोषाध्यक्ष जेनिश लामाले अनेरास्ववियुलाई आर्थिकरूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गरिने बताउनुभयो ।