एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  297 पटक हेरिएको


काठमाडौं, कार्तिक ६ । 

नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए ।

“करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उनले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टी एक ढिक्का भईसकेको र आगामी महाधिबेशनबाट सशक्त भएर आउने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए ।

‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार