
काठमाण्डौँ, असोज ३ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भईरहेको नेपाल र ओमान बिजको खेलमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे।
ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४.४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए।
एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए। ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भएको थियो। पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो।
लिग-२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।




453 पटक हेरिएको 
















