काठमाडौं, साउन ९ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।
सर्वोच्च अदालतले पूर्वडीआईजी रञ्जन कोइरालाको जेल सजायँ कटौती गरिदिएपछि रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । आफ्नै पत्नी हत्या अभियोगमा आजिबन जेल जीवन बिताईरहेका कोईरालाको जेल भुक्तान कटौती गरी रिहा गरीएको थियो । यस बिषयलाई लिएर जनतामा न्यायलय प्रतिको विश्वासमा नै प्रश्न चिन्न उठाएको छ ।