कोरोनाको त्रास : चैत ९ देखि २१ गतेसम्म सबै बैंक तथा वित्तीय संस्था बन्द

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2316 पटक हेरिएको

vision-online-advertise

काठमाडौँ, चैत ७ ।

सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । 
 बैंक तथा वित्तीय संस्था समग्रमै अत्यावश्यक सेवामा पर्ने भएपनि अत्यावश्यक सेवा बाहेक बैंक तथा वित्तीय संस्थाका अन्य सेवाहरु बन्द गर्ने गरी तयारी गर्न लागिएको बुझिएको छ ।

यद्यपी एटिएम सेवा र अत्यावश्यक काम गर्न होलिडे काउन्टरहरु भने खोल्ने तयारी गर्न बैंकहरुलाई सर्कुलर जारी गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई समेत अनुरोध गर्न लागिएको स्रोतको दाबी छ । ‘अत्यावश्यक भनिएकाले एटिएमहरु खोल्न लगाउने र केहि काउन्टरहरु खोल्न लगाउने तर अन्य कामहरु सरकारको निर्देशन अनुसार बन्द गर्नेगरी सर्कुलर जारी गर्दैछौँ। ‘ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।  यद्यपी बैंक अत्यावश्यक सेवाकै रुपमा लिनुपर्ने भन्दै केहि दिनको अवस्था हेरेर मात्र अगाडी बढ्नुपर्ने धारणा राष्ट्र बैंकभित्रै बाट आएकाले निर्णय कुर्नुपर्नेसमेत उनको तर्क छ ।


अत्यावश्यक सेवाहरुमा बैंकसहित यी सेवाहरु पनि पर्ने भएकाले राष्ट्र बैंकको निर्णय नै कुर्नुपर्ने अवस्था भने छ । अत्यावश्यकको लिष्टमा रहेको हवाईसम्बन्धि सेवा सरकारले बन्द गर्ने निर्णय गरिसकेको छ। 
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरू सामु उपस्थिति भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्।

सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन। तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं। नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु।

देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरूको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ। यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरू सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरूको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ। 
दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ।

साथै, मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरू कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ। यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ। 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार