तनहुँ, असार २९ ।
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर सोमबार तनहुँमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोले पुरिएर ऋषिङ-८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिसरा थापा, ५ वर्कोषीया अनिषा थापाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा र व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ ।