
काठमांडौ, जेठ २८ ।

अस्ट्रेलिया फिफा विश्वकप २०२२ कतारअन्तर्गत एसिया छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति कुवेत सिटीमा भएको खेलमा लगातार सातौं जित निकाल्दै अस्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा पुगेको हो। अस्ट्रेलिया विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एसियन कप २०२३ का लागि पनि छनोट भएको छ।
सातौं जित निकाल्ने क्रममा शुक्रबार अस्ट्रेलियाले नेपाललाई ३-० गोलले पराजित गर्यो। यता विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ। शुक्रबार छैटौं मिनेटमा अस्ट्रेलियाले अग्रता लियो। उसका लागि म्याथ्यु लकीले पहिलो गोल गरे। ३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गरे।
खेलको ४५ मिनेटमा नेपाल १० खेलाडीमा सीमित बन्यो। नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए। ५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे।
दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।




719 पटक हेरिएको 
















