
जापान, बैशाख १२ ।

जापान सबैको मन मस्तिष्कमा बस्न सफल युवा पुस्ताका बक्सर अविरल घिमिरे(हिमालयन चितुवा)ले ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन् विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ ।
आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो शहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो ।
प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए । दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो ।
अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरल हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । आज भएको उक्त खेल हेर्न र नेपाली प्रतिस्पर्धी हिमालय चितुवालाई हौसल्ला दिनको लागि नेपाली समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो ।




697 पटक हेरिएको 

















