काठमाडौं, चैत १५ ।
नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा हाजिर भएका डाक्टर र नर्सहरु आन्दोलनमा उत्रिएका थिए । कोरोना संक्रमणको उपचारमा प्रयोग हुने अत्याबश्यक सामाग्री नै नहुँदा आन्दोलित भएका स्वास्थ्यकर्मीहरुको माग र सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले चीनबाट उक्त सामान ल्याउने भएको हो ।
उक्त कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीनको ग्वाङझाओ जाने भएको छ । ए ३३० वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गर्ने छ ।
कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिइसकेको नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्रीहरु ल्याउने छ । यसअघि चीनमा कोरोना संक्रमण फैलिँदै गएपछि वुहान शहरमा बसोबास गर्ने नेपालीहरुलाई पनि नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।
पर्यटक उद्धार गर्न लुक्ला र कोरोनाको नमूना लिन नेपालगञ्ज जाने
यसैबीच नेपाल सरकारद्धारा गरिएको लकडाउनको मारमा परेका पर्यटकहरुको उद्धार गर्न नेपाल एयर र सिता एयर र श्री एयरलाइन्सको जहाजले आज आन्तरीक उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर विमानले लुक्लामा शनिबार ५ उडान गर्दैछ । लुक्लामा अलपत्र बिदेशी पर्यटकको उद्धार गर्न यो उडान हुन लागेको हो । दुई वटा ट्विनअटर जहाजले लुक्लामा ५ वटा उडान गर्न लागेका नेपाल एयरलाइन्सले जनाएको छ ।
लुक्लाबाट पर्यटकहरुलाई लिन सीता एयरले पनि उडान अनुमति पाएको छ । यसैगरी श्री एयरलाइन्सको हवाईजहाज पोखरामा रहेका पर्यटकहरु लिन जाने छ । यसैगरी सुदूर तथा मध्यपश्चिम क्षेत्रमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज शनिबार नेपालगन्ज जाँदै छ ।
स्वास्थ्य मन्त्रालयको चार्टर्डको रुपमा नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगञ्ज जाने छ । जहाजले कोरोना शंकास्पद विरामीबाट संकलन गरिएका खकारको नमूना मात्रै लिएर काठमाडौं फर्किने छ ।