काठमाडौं, फागुन ३० ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन् ।
निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी लगायतले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चैत १ गते भेट गर्ने छन् । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख रोजगारको गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् ।