महरा छुटे लगत्तै सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्ड र नेता नेपालले एउटै फोनबाट दिए बधाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1008 पटक हेरिएको

काठमाडौं, फागुन ५ ।

बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा छुटे लगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दिएका हुन्।

‘प्रचण्ड र नेता नेपाल बानेश्वरको अर्याल होटलमा छलफलमा बस्नु भएको थियो’ नेकपाका एक नेताले भने ‘उहाँहरु दुबैले महरा सर छुटेपछि एउटै मोबाइलबाट फोन गरेर पालैपालो बधाइ दिनुभयो।’ ति नेताका अनुसार पहिला फोनमा प्रचण्डले महरा सरलाई बधाइ दिए र त्यसपछि त्यही फोनबाट नेता नेपालले पनि बधाइ दिएका थिए। अध्यक्ष प्रचण्ड र नेता नेपालले फोन गरेर बधाइ दिँदा महरा डिल्लीबजार कारागारमा थिए।

नेकपाको तीन महिने विशेष अभियानका अन्तर्गत मंगलबार सुर्खेत जाने विषयमा प्रचण्ड र नेपाल अर्याल होटलमा छलफल गरिरहेका थिए। उक्त छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए।यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । 

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। -साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार