जापान, फाल्गुन २७ ।

जापानको मियागी केनस्थित एक चिनियाँ कम्पनीमा वर्किङ पर्मिट नभएका दुई नेपालीलाई अवैध रूपमा काम लगाएको आरोपमा तोचिगी सिटी निवासी बसन्त नेवार श्रेष्ठलाई जापान प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, उक्त कम्पनीका चिनियाँ मालिक यसअघि नै पक्राउ परिसकेका थिए। अनुसन्धानका क्रममा मोबाइल रेकर्ड र अन्य प्रमाणका आधारमा श्रेष्ठको संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको जापान प्रहरीले जनाएको छ।
जापानको अध्यागमन कानुनअनुसार, विदेशी नागरिकहरूले कानुनी रूपमा रोजगारीका लागि वर्किङ पर्मिट लिनुपर्छ। पछिल्लो समय बिना अनुमति विदेशी नागरिकहरूलाई रोजगारीमा लगाउने गिरोह सक्रिय भइरहेका छन्, र प्रहरी यस्ता अवैध गतिविधि रोक्न निगरानी बढाएको जनाएको छ। एक अनुसन्धान अधिकृतले भने, “हामी मोबाइल रेकर्ड, बैंक ट्रान्जेक्सन र अन्य डिजिटल प्रमाणहरूको विस्तृत अध्ययन गर्दैछौं। अवैध श्रमिक आपूर्ति गर्नेहरूमाथि कडा कारबाही गरिनेछ।”
जापानस्थित नेपाली समुदायका अगुवाहरूले गैरकानुनी गतिविधिमा संलग्न नहुन र वैधानिक प्रक्रियामार्फत रोजगारी खोज्न अपिल गरेका छन्। नेपाली दूतावासले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया नजनाए पनि, जापानको अध्यागमन कानुन उल्लङ्घन गर्ने जो(कोहीलाई कडा कारबाही हुने चेतावनी दिएको छ।
प्रहरीले बसन्त नेवार श्रेष्ठलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ, र अदालतमा मुद्दा दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढ्ने समेत बताइएको छ। जापान सरकारको नियम अनुुसार बिदेशी नागरिकले जापानमा गैर कानुनी काम गरेको वा गराईएको पाईएमा निजलाई देश निकालासम्म गरिने प्राबधान रहेको छ ।



240 पटक हेरिएको 
















