जनकपुरधाम, माघ १२ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सिके राउत समुहले आज बिहानै देखि प्रदेश २ को बिभिन्न क्षेत्रमा बिभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेको छ । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए ।
त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ । जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । उनीहरु राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडपका घटना भइरहेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।



541 पटक हेरिएको 
















