कांग्रेस सभापतिमा डा. शेखर कोईरालालाई ९०७ मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  454 पटक हेरिएको

काठमाडौं, मंसिर २८ । 

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तरगत सभापतिको दोस्रो चरणको मतगणना सकिएको छ । दोस्रो चरणमा भएको निर्वाचनमा नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ तिनै जनाले देउबालाई सघाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार