चितवन बने पोखरा प्रिमियर लिगको च्याम्पिएन,उत्कृष्ट तीनले पाए मोटरसाईकल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1291 पटक हेरिएको

पोखरा, पुस १२ ।

नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा आउट भए लोकेश बम मात्र एक रनमा ।

तर मोहम्मद दैज आलमले नुमान खानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका खान १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रमक पारी खेल्दै ४१ रनको साझेदारी गरे ।

आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौं नम्बरमा आएका पुनित मेहरा र प्रदीप क्रिजमा रहँदासम्म बिराटनगरको जितको आश कायमै थियो । दुबैले ठूलो सर्ट खेलिरहेका थिए ।

कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औं ओभरका पाँचौं बलमा आउट भएपछि भने चितवनको जित औपचारिक मात्र बाँकी रहृयो । मेहरा ३२ र ऐरी ३६ रनमा आउट भए ।

उत्कृष्ट तीनले मोटरसाईकल पाए

पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करणको च्याम्पियन चितवन राइनोजका दुई खेलाडीले टिभिएसको मोटरबाइक जितेका छन्। चितवनका अलराउन्डर तथा युएईका कप्तान रोहन मुस्ताफा म्यान अफ दि सिरिज तथा फाइनलको प्लेयर अफ दि म्याच भए। 

उनले प्रतियोगिताभर ६ खेलमा २०९ रन बनाउनुका साथै ६ विकेट लिए। सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका उनले तीन अर्धशतक बनाए। सर्वाधिक रन भने उपविजेता विराटनगर टाइटन्सका पुनित महेराले बनाए। 

काठमाडौं गोल्डेन्स वारियर्स तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। उनले ५ खेलमा एक शतकसहित २०१ रन जोडे। उनी सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध शतक प्रहार गरेका थिए। चितवनका करण केसी उत्कृष्ट बलर बने। उनले प्रतियोगितामा ६ खेलमा १४ विकेट लिए। उत्कृष्ट भएका तीनै जनाले मोटरबाइक पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार