दैलेख, पुस, ६ ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ । उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताएका छन ।
अपहरणकारी गाउँपालिका अध्यक्षका श्रीमतिलाई भने जङ्गलको बिचबाट फर्काईएको छ । निज अपहरणमुक्त भएकी ईलाले अपहरणमुक्त भएपछि प्रहरी तथा पत्रकारहरुलाई घटनाबारे जानकारी गराएका छन ।
गाउँपालिका अध्यक्षका श्रीमति अपहरणमुक्त, घटना रानि १ बजे भएको
शनिबार मध्यराति ठाँटीकाँध गाउँपालिका प्रवेश गरेको अपरिचित हतियारधारी समूह वडा नं. २, प्याडुली हुँदै गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको घरमा पुग्यो । पटकपटक ढोका ढक्ढक्याएपछि शाही पत्नी इलाले दैलो उघारेकी मात्र के थिइन्, १०/१२ जनाको समूह घरभित्र प्रवेश गरी शाहीलाई उठाउन खोज्यो । सो समूहले शाहीलाई ‘हामीसँग हिँड्’ भनेपछि इलाले प्रश्न गरिन्, ‘किन जाने ? कहाँ जाने ?’भनि प्रश्न गर्न थालेपछि समूहका एक जनाले ‘सोधपुछ गर्नुछ, फर्काइहाल्छौं’ भन्ने जवाफ दिएको इलाले सुनाइन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी इलाले माओवादी द्वन्द्वको समयमा घरबाट यसैगरी लगिएका व्यक्तिहरु नफर्काएको सम्झिइन् । र, श्रीमानलाई लैजाने भए आफू पनि सँगै जाने बताइन् । हतियारधारी समूहले ‘हल्ला किन गर्नुहुन्छ’ भन्दै धम्क्याए तर उनले मानिनन् ।
करिब आधा घण्टा यस्तै गलफत्ति चल्यो । अन्ततः धिरबहादुर दम्पत्तिलाई सो समूहले घरबाट अपहरण गर्यो । तर करिव दुई घण्टा हिँडाएपछि वडा नं. २ को जंगलमा पुर्याएपछि इलालाई यहीँबाट फर्किन भनियो । नफर्किए ‘जे पनि हुनसक्ने’ धम्की दिइयो । धिरबहादुरलाई भने नकाबधारी समूहले आफूसँगै लगेको इलाले सुनाइन् ।
गाउँपालिका अध्यक्ष सिमानातिर प्रहरीको अनुमान
अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ । जिल्लाको सुरक्षा टोलीका एक अधिकृतले गाउँपालिका अध्यक्षलाई कालिकोटतिर लगिएको सूचना प्राप्त भएको बताए । उनकाअनुसार अध्यक्ष शाहीलाई सीमा क्षेत्रमा पुर्याएको आशंकामा प्रहरी टोली परिचालन गरिएको छ । गाउँपालिकाबाट पनि छुट्टाछुट्टै समूह परिचालित भएको छ ।
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्यपि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ । स्रोतले भन्यो, ‘विप्लव समूहविरुद्ध सुराकी गरेको तथा गाउँपालिकाको बजेटमा अनियमितता गरेको आरोप लगाउँदै अपहरण गरेको सूचना आएको छ ।’
गृह मन्त्रालयका एक उच्च अधिकारीले भने शाहीलाई ‘लोकेट’ गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘हामीले समन्वय गरिरहेका छौं । घटनाबारे अहिलेसम्म कसैले जिम्मेवारी पनि लिएको छैन ।’