कतार, पौष ३ ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली फरवार्ड रोवर्टाे फिर्मिन्होको निर्णायक गोलमा युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले पराजित गर्दै लिभरपुलले फाइनलमा ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको भेट पक्का गर्यो । फ्लामेङ्गोले एसियन च्याम्पियन साउदी अरवको अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
खेलको १२औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर, लिभरपुलको यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा रोगेलियो फुनेस मोरीले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा लिभरपुलले मोन्टेरीलाई दवावमा राखे पनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । प्रशिक्षक योर्गेन क्लोपले खेल सकिन ५ मिनेट बाँकी रहँदा डिभोक ओरिगीको स्थानमा रोबर्टाे फिर्मिन्होलाई मैदान प्रवेश गराएपछि लिभरपुल खेलमा फर्कन सफल भएको थियो ।
उनै फिर्मिन्होले अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जित सहित उपाधि नजिक पुर्याए । मोहम्मद सलाहले ट्रेन्ट एलेक्सजेन्डर अर्नाेल्डले क्रस गरेको बललाई फिर्मिन्होले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गर्न सफल भएका थिए । फ्लामेङ्गो र लिभरपुलबीचको फाइनल खेल शनिबार हुनेछ ।