काठमाडौं, मंसिर २४।
पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिन विविध खेलको अन्तिम प्रतिस्पर्धा गर्दै समापन हुन लागेको हो । भुकम्पबाट थलिएको नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण र सरकारको तदारुकताका कारण नेपालले १३ औँ साग आयोजना गर्न सफल भएको हो ।
१३ औं साग अन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।
यस्तै, आजै बास्केटबल तर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा खेल्नेछ ।
यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ ।
यस्तै, ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपाल लक्ष्यबाट १ स्वर्णले टाढा छ । तर सन् १९९९ मा आठौं साग आयोजना गर्दा हात पारेको दोस्रो स्थान यसपटक पनि सुरक्षित हुने पक्का छ ।
नेपालले आठौं साग आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यस पटक त्यो कीर्तिमान तोडिएको छ र एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनिसकेको छ । तेस्रो पटक नेपालले साग आयोजना सम्पन्न गर्दैछ । १४ औं साग पाकिस्तानमा आयोजना गर्ने निर्णय भइसकेको छ र आज समापन समारोहमा पाकिस्तानले सागको झण्डा ग्रहण गर्ने कार्यक्रम रहेको ।