काठमाडौं, मंसिर ३ ।
ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट प्रदर्शनका साथ अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ । भारतको अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन बनाएको थियो । अष्ट्रेलियाले ट्राविस हेडको १३७ रन र मानर्स लाबुशेनको अविजित ५८ रनको मदतमा ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो । जबकि अष्ट्रेलियाको सुरुवात भने राम्रो थिएन । मोहम्मद शामीले आफ्नो पहिलो ओभरमै अष्ट्रेलियाका सफल ब्याट्सम्यान डेभिड वार्नरको विकेट लिए । शामीको लुड लेन्थ बलमा बार्नरले खेल्न खोजेका थिए, तर ब्याटको बाहिरी किनारामा लागेको बल स्लिपमा रहेका विराट कोहलीको हातमा पुग्यो । उनी मात्र ७ रनमा आउट भए ।
खेलको पाँचौं ओभरमा जसप्रित बुमराहले मिशेल मार्शको विकेट लिए । उनी १५ रनमा आउट भए । आफ्नो अर्को ओभरमा उनले नै स्टिभ स्मिथलाई एलबीडब्लू धरापमा पारे । बुमराहको स्लो कटरमा स्मिथ चुके र बल उनको प्याडमा लाग्यो । भारतको एलबीडब्लू अपीलमा फिल्ड अम्पायरले विकेट लिए । स्मिथले रिभ्यू लिएनन् । जबकि रिप्ले र बल ट्र्याकिङमा देखाइएको बल अफ स्टम्प बाहिर गएको देखिएको थियो ।
४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएसँगै दबाबमा आएको अष्ट्रेलियाले पावर प्लेमा निकै संघर्ष गर्नु परेको थियो । तर हेडले लाबुशेनसँग मिलेर पारी सम्हाले । दुवैले चौथो विकेटका लागि १९२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । म्याक्सबेलले पहिलो बलमै दुई रन लिएपछि अष्ट्रेलिया विजयी भयो ।
हेडले चोटका कारण विश्वकपको सुरुवाती खेल गुमाएका थिए । चोटमुक्त भएर टिममा फर्किएका उनले न्यूजिल्याण्डविरुद्ध ५९ बलमा शतक बनाउँदै शानदार पुनरागमन गरे । सेमिफाइनलमा एकै ओभरमा दुई विकेट लिएर दक्षिण अफ्रिकालाई दबाबमा राख्न भूमिका खेलेका उनले ब्याटिङका क्रममा पनि एउटा एण्ड सम्हाल्दै ६२ रनको पारी खेलेका थिए । फाइनलमा पनि उनी म्यान अफ दि म्याच बने।
भारतको आक्रामक सुरुवात
टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिंदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए । तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रामक ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्टार्कको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पुर्याएका थिए ।
दशौं ओभरमा ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भए । अष्ट्रेलियाका स्टार्कले ३, कमिन्स र ह्याजलउडले २/२ विकेट लिए भने म्याक्सवेल र एडम जाम्पाको नाममा एक/एक विकेट रह्यो ।