
धनगढी, कात्तिक २८ ।

गत मंगलबार राति कैलालीको टीकापुरमा धारिलो हतियार प्रहार गरेर भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । आफ्नै साथीहरुबाट गरिएको हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । अमेरिकाको डिभि परि अमेरिका जाने तयारीमा रहेको भडुवाल शंक्कै शंकामा आफ्नै साथीहरुको जालमा परि मृत्युबरण गर्न पुगेको हो । टीकापुरका दुई गुण्डाहरुको पेलाईमा परेका भडुवाल अन्त्यमा आफ्नै मामा नाता पर्नेबाट मारिएका थिए ।
धारिलो हतियार प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्न भएको आरोपमा लम्कीचुहा(५ का २४ वर्षीय विकास खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले खड्कालाई लम्की क्षेत्रबाटै पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार उक्त घटनामा मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका अन्य ७ जना अझै फरार रहेको बताउँदै एसपी अधिकारीले उनीहरुको खोजी कार्य जारी राखिएको बताएका छन ।

गत २३ कात्तिकमा टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।
अनुसन्धानका लागि सीआईबीको टोली खटाइदै
जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले युवक हत्या घटनाको अनुसन्धान गरिरहेको छ । कैलाली प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी) को छुट्टै टोली समेत अनुसन्धानका लागि खटाइने भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बसन्तबहादुर कुँवरले जिल्ला र प्रदेशबाट माग भएबमोजिम अनुसन्धानका लागि सीआईबीको टोली खटाइन लागेको जानकारी दिए । ‘जिल्ला र प्रदेशबाट टीकापुरमा युवकको हत्या भएको घटनाको अनुसन्धानका लागि सीआईबीका अधिकारी माग भइ आएकाले खटाउने तयारी भइरहेको छ,’ एसएसपी कुँवरले भने, ‘सीआईबीको विशेष टोली काठमाडौँबाट कैलाली गएर सोमबारदेखि आफ्नो काम शुरु गर्नेछ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अधिकारीले उक्त घटनामा सुक्ष्म अनुसन्धान गर्न आवश्यक ठानेर सीआईबीको विशेष टोली माग गरिएको बताए । प्रहरी स्रोतकाअनुसार बडुवाल हत्या प्रकरणमा लम्की र टीकापुर क्षेत्रमा विगतदेखि नै अपराधिक गतिविधि गर्र्दै आएको गिरोह संलग्न रहेकाले यो घटना आकस्मिक नभएर संगठीत अपराध अन्तरगत भएको हुनसक्छ ।
‘त्यसकारण पनि बडुवाल हत्या प्रकरणलाई प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको हो,’ एक जना अधिकारीले भने, यो घटनामा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमा टीकापुर र लम्की क्षेत्रमा धेरै हदसम्म अपराधिक गतिविधि न्यूनीकरण हुने विश्लेषण हाम्रो छ ।’ पछिल्लो समय पुर्वी कैलालीको यो क्षेत्रमा हत्या, हिंसा जस्ता अपराधिक गतिविधि बृद्धि हुँदै गएको समेत प्रहरीको तथ्यांकले देखाउँछ ।



362 पटक हेरिएको 
















