माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो दलको मान्यता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  439 पटक हेरिएको


काठमाडौं, भदौ ९ ।  

नेकपा एमालेबाट अलग भएका माधव कुमार नेपाल समुहका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् ।

यद्यपि दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ । ‘हाम्रो २०३ जनाको केन्द्रीय कमिटी थियो, त्यसमा १९१ जना बहाल हुनुहुन्थ्यो । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत गर्‍यौं, ‘ नेता राजेन्द्र पाण्डेले भने, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’

नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने र नगर्न अनुरोध गर्दै ओली समूहको नेकपा एमालेले भनेर निवेदन दिएको थियो । आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ ।

यस्तै ३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेको नेता पाण्डेले जानकारी दिए । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो ।

निर्बाचन आयोगद्वारा प्रदान गरीएको दल दर्ताको प्रमाणपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार