एमाले २ जेठ २०७५ मा फर्कियो, मंसिरमा महाधिवेशन गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  492 पटक हेरिएको

काठमाडौं, भदौ ८ ।   

नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ दलमा नगएका स्थायी कमिटीका १० नेता सहभागी भएका थिए । उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।

स्थायी कमिटी बैठकले २७ असारमा भएको १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ । त्यसअनुसार पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको सचिव प्रदीपकुमार ज्ञवालीले बताए ।

बैठकले दल विभाजन प्रक्रिया रोकेर पार्टी एकतामा आउन नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ । यद्यपि पार्टी विभाजनकै लागि कतिपय नेताले कसम नै खाएको सचिव ज्ञवालीको टिप्पणी छ ।

कार्यदल गठन

बैठकले १० बुँदे कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, दश प्रतिशत केन्द्रीय सदस्य सदस्य मनोनयन, विभागहरुको पूर्णता तथा पुनर्गठनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।

सात सदस्यीय कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

पार्टी एकताको सन्देश दिन भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

महाधिवेशनको मिति तय

स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशन ४–६ असोज र दशौं महाधिवेशन १०–१२ मंसिरमा गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ । पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने र असोज मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय भएको ज्ञवालीले बताए ।

साथै कात्तिक ६ गते वडा र ९ गते पालिका स्तरको अधिवेशन गर्ने पनि बैठकको निर्णय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार