जापान, भदौ ६ ।

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा जापानको फुकुओका शहरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जस्तै यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका दिन फुकुओका स्थित हाकाता सिमीन सेन्टर हलमा आयोजना हुने भएको छ । १९९५ सालमा स्थापना भएको फुकुओका नेपाल सोसाइटीले स्थापना कालदेखिनै नेपाल र नेपालीहरुका विभीन्न चाड पर्व बिशेष कार्यक्रम आयोजना गर्दै फुकुओकामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको छ, यस वर्ष पनि विगतका वर्षमा जस्तै “फुकुओका तिज फेस्टीबल २०२४” कार्यक्रम आयोजना गर्न लागिएको फुकुओका नेपाल सोसाइटीका अध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी गराउनु भयो ।
यस वर्षको तीज कार्यक्रमका लागी नेपालबाट ख्याती प्राप्त कलाकार राम्जी खाँड, समिक्षा अधिकारी र रुपा घर्ति मगर जापान आउदै हुनुहुन्छ भने फुकुओकामा बसोबास गर्ने कलाकारहरु गायक तथा सर्जक पुरुषोत्तम सिग्देल र माधव सिग्देलको पनि दमदार प्रस्तुती रहने जनाएको छ । साथै विभीन्न अन्य सांस्कृतिक कार्यक्रमको पनि तयारी गरीएको अध्यक्ष घलेले बताउनु भयो ।
प्रवासमा बसोबास गर्ने नेपाली नारीहरुलाई मध्यनजर राख्दै हरेक बर्ष जस्तै यस बर्ष पनि आयोजना गर्न लागिएको फुकुओका तीज फेष्टिबल २०२४ आयोजना गर्न लागिएको अध्यक्ष ईन्द्र प्रसाद घलेले स्पष्ट पार्नुभयो । जापानमा रहेका नेपाली नारीहरुको महान पर्व हरितालिकाको तीजको माध्यमबाट नेपाली समाजलाई आपसी सम्बन्धलाई अझ मजबुद पार्ने र यस्ता कार्यक्रमले नेपाली समाजलाई मनोरञ्जनका साथै नेपाली कला संस्कृतिको संरक्षण र प्रबद्धनमा टेवा पुर्याउने समेत जानकारी गराउनु भयो ।
यस वर्षको कार्यक्रम मनोरन्जनका लागी मात्र नभै कार्यक्रमबाट बचत भएको रकमको केही प्रतिशत रकम संस्थाद्धारा संचालीत सुख दुख कोषमा राखी नेपाल तथा जापानमा समस्यामा परेका नेपालीहरुका लागी गर्दै आइरहेको सहयोगलाई निरन्तरता दिने योजना रहेको समेत जानकारी दिनु भयो । फुकुओका नेपाल सोसाईटिको प्रमुख आयोजना र फुकुओकामा रहेका बिभिन्न संस्थाहरुको सह–आयोजनामा सम्पन्न हुन गईरहेको फुकुओका तीज फेष्टिबल २०२४ सम्पन्न गर्न फुकुओकामा रही बिभिन्न पेशा ब्यबसायमा आबद्ध नेपाली समुदाय, बिद्यार्थी भाईबहिनी लगायत सम्र्पुण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध समेत गर्नुभयो ।




856 पटक हेरिएको 

















