काठमाडौं, भदौ ४ ।
माधवकुमार नेपालसँग रहेका तर नयाँ पार्टीमा नगएका नेकपा एमालेका दोस्रो तहका नेताहरुले १० बुँदे सहमति अक्षरम्श कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ । अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । महाराजगञ्जस्थित एरिकल इभेन्ट्स होटलमा भएको छलफलमा माधव नेपाल समूहमा रहेका तर, उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्य र सांसद गरी ५७ जना सहभागी भएका थिए ।
बैठकले दुई दिनभित्र २७ असारमा भएको १०बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० बुँदेमा अनुसार १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर केन्द्रीय कमिटीको कहिले बोलाउने हो, मिति तोकियोस् ।’
अहिलेसम्म भएका सबै निर्णय खारेज गर्नुपर्ने, पार्टी तथा जनसंगठन पूर्ववत् अवस्थामा फर्किंदा उत्पन्न हुने समस्या समाधानका लागि कार्यदल बनाउनुपर्ने बैठकको माग छ । १० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।
दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे एमालेमा अर्को विद्रोह हुने यो समूहको चेतावनी छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्ने र कारबाही रोक्नुपर्ने आफूहरुको माग भएको बताए । उनले अघि भने, ‘सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज समेत बताएका छन ।’