नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  656 पटक हेरिएको

काठमाडौं, साउन २३ ।   

नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ ।

यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गर्ने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ ।

बैठकले खेलकूदस्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन, विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन गर्न रोक लगाई वैकल्पिक सिकाइ विधि अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार