रुपन्देही, जेठ ६ ।
नेपालमा दुई जनाको कोरोना संक्रमण पुष्टी हुनु अघि नै मृत्यु भए पनि अन्य संक्रमितको स्वास्थ्य अवस्था प्राय सामान्य नै देखिने गरेको छ । अहिले सम्म कुनै पनि संक्रमितलाई आईसीयु वा भेन्टिलेटर प्रयोग भएको पाईएको थिएन । भेन्टिलेटरको अभाव भारत देखि अमेरीका सम्म भईरहेका बेला नेपालमा समेत अत्याधिक मात्रामा संक्रमितलाई भेन्टिलेटरको आवस्यकता परे निकै जोखिम बढ्न सक्ने अनुमान गर्ने गरिएको छ ।
तर पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितलाई भने भेन्टिलेटरको सहायतामा आईसियुमा राखिएको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “विभिन्न समाचारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो तर केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ । ”
एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आउनुभएका उहाँलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो । थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो । मदानेको एक विद्यालयका प्रधानाध्यापक समेत रहेका उहाँमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । हाल निजको स्वास्थ्य अवस्थामा जटिलता आएकोले हाल भेन्टिलेटरमा राखेर थप उपचार भैरहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गरेको नेपालमा पहिलो केश हो ।