नेता नेपालको ७१ बर्षको उमेरमा निधन, साधारण नागरिक सरह अन्त्येष्टी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  185 पटक हेरिएको

काठमाडौँ, बैशाख २२ ।

एमाले पार्टी निर्माणका एक ‘अहम भूमिका’ मानिएका प्रदीप नेपालको मंगलबार उपचारका क्रममा निधन भएको छ । उनले को–अर्डिनेसन केन्द्र, माले हुँदै एमाले बनाउन प्रत्यक्ष भूमिका खेलेका थिए । जीवनभर कम्युनिस्ट राजनीतिमा सक्रिय उनी पछिल्लो समय भने साहित्य लेखनमा केन्द्रित थिए । पछिल्ला दिनमा आफूलाई राजनीतिज्ञ भन्दा ‘जीवनवादी साहित्यकार’ भन्न रुचाउने नेपाल केही वर्षयता पार्किन्सन रोगबाट पीडित थिए । परिवारका अनुसार विचार भन्दा पदीय प्रतिस्पर्धामा लाग्ने नेताहरूको प्रवृत्ति देखेर उनी राजनीतिमा बिस्तारै निष्क्रिय हुँदै आएका थिए ।

रोगले च्याप्दै लगेपछि उनले आफूलाई ‘मृत्युपर्यन्त पार्टीको झन्डा नओढाउन र पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्न’ इच्छा व्यक्त गर्दै आएका थिए । उनको इच्छाअनुसार पार्टीको झन्डा ओढाइएन र पार्टी कार्यालयमा श्रद्धाञ्जली पनि राखिएन । उनको पार्थिव शरीरको मंगलबार साँझ पशुपति आर्यघाटमा सामान्य नागरिक सरह अन्त्येष्टि गरिएको छ ।

भोजपुरको गोगनेमा २८ पुस २०१० मा जन्मिएका नेपालले २०२६ मा त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०३५ मा को–अर्डिनेसन केन्द्र (कोके) मा सहभागी भए । कोके मुक्ति, पुष्पलाल श्रेष्ठको मुक्ति मोर्चा, दाङको सन्तोष समूह, झापाको रातो झन्डा एकता हुँदै २०३५ मा नेकपा मार्क्सवादी लेनिनवादी ९माले० निर्माणमा उनको उल्लेखनीय भूमिका रहेको थियो । राजनीतिक गतिविधिमा सक्रिय रहेका बेला उनी जेल परे । २०३३ मा ललितपुरको नख्खु जेल तोडेर निस्किएका थिए । २०४६ को जनआन्दोलन सफल भएपछि २२ पुस २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई नेकपा (एमाले) गठन भयो ।

तत्कालीन नेकपा (माले) ले २०४६ भदौ ९ देखि १४ सम्म सिरहामा भएको चौथो राष्ट्रिय महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिलाई अनुमोदन गरेको थियो । त्यसलाई परिमार्जित गरी २०४७ मा तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुलीय जनवाद’ लागू गर्न नेपालको भूमिका महत्त्वपूर्ण रहेको नेताहरूको भनाइ छ । जतिबेला पार्टीभित्र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को चर्को बहस चलेको थियो, त्यतिबेला नेता नेपालले ‘जबज’ को व्याख्यासहित पुस्तिका छापेर एमाले कार्यकर्तालाई पढाउने अभियान नै चलाएका थिए ।

नेता प्रदीप नेपाल एमाले निर्माणको एक सर्जक भएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् । कम्युनिस्ट जडतालाई तोडेर समयसापेक्ष विचार विकासमा उनको उल्लेखनीय योगदान रहेको ज्ञवालीको भनाइ छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनका प्रखर नेता नेपालको निधनले पीडाबोध भएको जनाएका छन् । ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको योगदानलाई हामी सधैं सम्झिरहनेछौं।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार