लन्डन, चैत ३० ।
बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको हो । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो । उनलाई जाँच गरेपछि ‘कोभिड १९’ भएको पुष्टी अस्पतालले गरेको छ ।
एक नेपालीका अनुसार स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव एक बर्षमात्र उमेरको छ ।
घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन् । अन्य परिवारको भने स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ ।यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ । मृत पुष्पा प्रति भिजन अनलाईन न्युज परिवार हार्दिक श्रदांजलि अर्पण गर्दै स्वकसंतप्त परिवार प्रति हार्दिक समबेदना व्यक्त गर्दछौ ।