
काठमाडौं, चैत २९ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिएका छन् ।
भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए । यस्तै अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गरेका थिए । भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।
नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएको हुनाले जीवन रक्षामा केन्द्रीत हुने र नागरिकलाई दुःख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए । सरकारले योजनाबद्ध रुपले काम गरेको स्पस्ट पार्दै कुनैपनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार थापाले बताए । प्रधानमन्त्रिको मुख्यमन्त्रिहरुसंगको भिडियो कन्फेरेन्सलाई हेर्ने हो भने पुन: लकडाउन बढ़नसक्ने देख़िनछ ।
