
काठमाडौं, चैत १९ ।

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो ।
तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो । विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।
श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । एक लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौता थियो । तर, १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजार एन ९५ मास्क र र एक लाख जोडा ग्लोब्स मात्र आएको छ ।
तर, तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।
यस्तै, भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो । तर, त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् । स्वास्थ्य सामग्री खरिद प्रक्रियाको विवादास्पद बिषय प्रधानमन्त्रिसम्म पुगेको थियो भाने स्वास्थ्य मन्त्रि भानुभक्त ढकालसंग स्पष्टीकरण समेत मागीएko थियो ।
