
बुटवल, चैत १७ ।

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले उनी एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।
एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाह अनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो। नेपाल पछिल्लो समय कोरोनाका त्रासका कारण स्वास्थ्यकर्मी तथा डाक्टरहरूले नागरिकको स्वास्थ्यमा खेलवाड गरीरहेको देखिन्छ । ज्वरो लगायत सामान्य बिरामी भई अस्पताल भर्ना भएका बिरामीको पनि कोरोना त्रासका कारण स्वास्थ्यकर्मीहरूले ध्यान दिन छाडेको बिरामीहरूको गुनासो छ ।
