काठमांडौ, चैत १६ ।
सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक संकटलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ। राजश्व धेरै उठ्ने गाडीको आयात र मदिरा आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो। कोरोना महामारीको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेकोले त्यसको पूर्तिको लागि अन्तराष्ट्रिय सहुलियत ऋण लिने निर्णय गरेको हो ।
यसैबीच सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ। सरकारका प्रवक्ता तथा अर्थन्त्री डा युवराज खतिवडाले पत्रकार सम्मेलनमा कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले यो ऋण निर्ब्याजी हुने बताए।
त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको जानकारी दिए। एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने निर्णय गरिएको उनले जानकारी दिए।