काठमाण्डौँ, चैत ९ ।
चीनको बुहानबाट बिश्वभरि फैलिएको नोबेल कोरोना कोभिड–१९ भाईरस नियन्त्रणको लागि आज बसेको मन्त्रिपरिषदको बैठकले आपतकालिन राहत कोष नै खडा गरेको छ । नेपाल कोरोना संक्रमणको ग्रिन जोनमा परेको अबस्थामा नेपाल सरकारको यो निर्णय स्वागत योग्य रहेको छ । नेपाल सरकारको आजको निर्णयबाट खडा गरिएको आपतकालिन कोषमा नेपाल सरकारले ५० करोड रुपैँया राख्ने निर्णय समेत गरेको छ । नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै गैर आवासीय नेपाली संघ(एनआरएन) ले पनि उक्त कोषमा १ करोड सहयोग गर्ने भएको छ ।
गैर आवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले सामाजिक संजाल फेसबुकबाट उक्त जानकारी गराएको हो । संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार गैर आवसीय नेपाली संघको आईतबार बसेको ७२ औँ बैठकले प्रधानमन्त्रि राहतकोष मार्फत १ करोड रुपैँया सहयोग गर्ने निर्णय भएको जनाए । संघले कोरोना भाईरस संक्रमण नियन्त्रण सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षमा एक उच्च स्तरीय समिति र त्यस मातहत संघका कोषध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र डा.बद्री के.सीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।
संघले बिश्वभरि छरिएर रहेका राष्ट्रिय समन्वय परिषद र बिभिन्न देशमा रहेका क्षेत्रीय समिति मार्फत कोरोना संक्रमित नेपालीहरुको तथ्याङ्क संकलनको तयारी समेत गरेको जानकारी गराएको छ ।